You are here: Home » Notices » निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी जारी प्रेस विज्ञप्ती

Notices | निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी जारी प्रेस विज्ञप्ती

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी जारी प्रेस विज्ञप्ती - 2018-03-08

यो राष्ट्रिय निकुञ्ज, शिवपुरी क्षेत्रको १४४ वर्ग किमि र नागार्जुन क्षेत्रको १५ वर्ग किमि गरी जम्मा १५९ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । यस निकुञ्जको मध्यवर्ती क्षेत्र काठमाडौं जिल्लाका शंकरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, धादिङ जिल्लाको धुनीवेशी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी र ककनी गरी दुई गाउँपालिका गरी कूल ११८.६१ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मात्रै दैनिक तीन करोड लिटर खानेपानी सङ्कलन गरी वितरण गर्दै आएको छ । यस्तै खानेपानी उपभोक्ता समितिहरुले पनि निकुञ्ज क्षेत्रभित्रबाट खानेपानी सङ्कलन गर्ने पानीको मुख्य स्रोत हो । यसरी काठमाडौ उपत्यकाका ५० प्रतिशत र मध्यवर्ती क्षेत्रका सबै जनताको खानेपानीको स्रोत, पवित्र वाग्मती र विष्णुमती नदीको जलाधार क्षेत्र, वायू प्रदुषणलाई न्यूनीकरण गरी काठमाडौँको वातावरणीय सन्तुलन कायम गर्नु, जैविक विविधताको संरक्षण, महत्वपूर्ण धार्मिक स्थल शिवपुरी नागार्जुन क्षेत्रको संरक्षण यस राष्ट्रिय निकुञ्जका मुख्य उपादेहता हुन ।

सुख्खा यामको सुरुवातसँगै देशैभर वन डढेलोको सम्भावना अधिक रहन्छ । पछिल्लो वर्षहरुमा यस कार्यालयको नेत्तृत्वमा निकुञ्ज सुरक्षार्थ तैनाथश्री नयाँ श्रीनाथ गण र बर्द बहादुर गण, मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा, नेपाली सेनाको विपद व्यवस्थापन गण, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल लगायतका सुरक्षा निकायको सक्रियतामा निकुञ्ज क्षेत्रभित्र वन डढेलो न्यूनीकरण गर्न सफल भएको भएतापनि खडेरीको मौसममा यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन । अत्यधिक वन डढेलोको प्रमुख कारण मानिसको लापरवाही, असावधानी तथा नियतवश लगाइदिनाले वन डढेलो लाग्ने गरेको छ । रुखहरु, ठूलाठूला ढुङ्गाहरु र विजुलीको नाङ्गो तारहरु एक आपसमा घर्षण भएर पनि डढेलो लाग्ने गर्दछ । 

वन डढेलोको कारण बर्षेनी जलाधार क्षेत्रमा पानीको संचिति क्षमतामा हस, भू–क्षयतथा भूस्खलन, तल्लोतटीय क्षेत्रमा वाढी पैरोको कारण ठूलो धनजनको क्षतिहुने गर्दछ । निकुञ्ज भित्रका प्राकृतिक स्रोतको विनाश भई वन्यजन्तुको आहारा नाश हुँदा जीवजन्तुहरु निकुञ्ज बाहिर आई स्थानीय उपभोक्ताहरुको विलीनाली विनाश गर्ने, पशुधन मार्ने हुँदा मानववन्यजन्तु बीचको द्वन्द्व वढ्दो क्रममा रहेको छ । वन डढेलोका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनविनाश, वायू प्रदुषण, जीवजन्तु र मानव स्वास्थ्यमा नकरात्मक प्रभाव, जैविक विविधता विनाश हुने गरेको छ । त्यस्तै गरी स्थानीय बासिन्दाहरुको घरगोठ, पशुधन, अन्नबाली, भौतिक संरचना तथा प्राकृतिक सम्पदाको विनाश साथै मानवीय क्षति समेत हुने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(ङ) मा निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ (ख) मामध्यवर्ती क्षेत्र वनमा आगो लगाउन निषेध गरेको छ । सोही ऐनको दफा २६(६) मा ऐन अन्र्तगत बनेका नियमविपरित कसूर गर्ने व्यक्तिलाई बिगो कायम भएकोमा बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसूरमा कसूरको मात्रा हेरी बीस हजार रुपैयाँसम्म जरिवानावा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ । 

मिति २०७४ वैशाख १२ गते काठमाडौँ जिल्ला, भीमढुङ्गा, दीपेचौर स्थित मध्यवर्ती क्षेत्रभित्रको जंगलमा डढेलो लगाउने जिल्लाधादिङ, साविक छत्रेदेउराली गाविस हाल धुनीवेशी नगरपालिका वडा नं. १, थुम्कीगाउँ बस्ने जगतबहादुर तामाङ र निजको छोरा बखतबहादुर तामाङका विरुद्धमा वन डढेलो लगाएको आरोपमा यस कार्यालयमा मुद्दा दायर भइ मुद्दाको पुर्पक्ष भइरहेको छ । २०७४ माघ ३ गते पाँचमाने क्षेत्रमा डढेलो लगाउने व्यक्ति तारेकश्वर नगरपालिका वडा नं. ३, पाँचमाने बस्ने रामजी अर्याललाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको छ । २०७४ माघ २५ गते टोखा नगरपालिकाको झोर महाकाँल क्षेत्र, २०७४ माघ २० गते नागार्जुन नगरपालिकाको इचंगु क्षेत्र, २०७४ फाल्गुण २० गते नागी गुम्बा आसपास क्षेत्र, फाल्गुण २१ गते गोकर्णेश्वर नगरपालिका, वडा नं. १ महाकांल, सुन्दरीजल र फाल्गुण २२ गते सोही नगरपालिका वडा नं. १ वाराही मन्दिर आसपासको क्षेत्रमा डढेलो लगाउने व्यक्तिको व्यापक खोजतलास भईरहेको छ ।

निकुञ्ज र वन क्षेत्रको संरक्षण गरी काठमाडौं उपत्यकाको वातावरणीय सन्तुलन कायम गर्न र खानेपानीको श्रोतहरु सुक्न नदिन सम्पूर्ण समुदाय, संघ सस्था तथा ब्यक्तिहरु डढेलो नियन्त्रण तर्फ जुट्नु आजको अपरिहार्य आवश्यकता रहेको छ । सदा झै यस वर्ष पनि निकुञ्ज र वन क्षेत्रमा डढेलो लाग्न नदिने र लागेमा त्यसको नियन्त्रणमा सहभागि हुन स्थानीय उपभोक्ता, सुरक्षा निकाय, स्थानीय यूवा यूवती, नागरिक समाज, खानेपानीका उपभोक्ता, स्थानीय सरकार, राजनीतिक दलका कार्यकर्ताहरु, पर्यटक र अन्य सबैमा हार्दिक अपिल तथा अनुरोध गर्दछु । 

कमलजङ्ग कुँवर 

प्रमुख संरक्षण अधिकृत

२०७२/११/२३