सन् १८५० को दशकमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन वनमा राजा सुरेन्द्र शाहले वन्यजन्तु संरक्षणको नियम उल्लङ्घन गरेमा दिइने सजाँय बारे स्पष्ट रूपमा पहिलो आधिकारिक दस्तावेज लेखेका थिए । आधुनिक नेपालमा, बागमती र बिष्णुमती नदीको जलाधारलाई शुरुमा अत्याधिक वन फँडानी र अतिक्रमणबाट जोगाउन सन् १९७६ मा शिवपुरी जलाधार संरक्षण क्षेत्र घोषणा गरिएको थियो । यस् क्षेत्रलाई सन् १९७८ मा शिवपुरी संरक्षित जलाधार क्षेत्र र सन् १९८३ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा गरियो । सन् २००२ मा १४४ वर्ग कि.मि. क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा घोषित गरिएको थियो । जसलाई सन् २००९ मा नागार्जुन वनको १५ वर्ग कि.मि. क्षेत्रफल जोडेर कुल १५९ वर्ग कि.मि. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको थियो । जलाधार र जैविक विविधता संरक्षणमा जनताको सक्रीय सहभागिता हासिल गर्न सन् २०१६ मा निकुञ्ज वरपरको ११८.६१ वर्ग कि.मि. क्षेत्रफलमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुख्य विशेषताहरुमा निम्न छनः क) मध्यवर्ती क्षेत्र समुदायहरुको लागि शुद्ध खानेपानीको एक प्रमुख स्रोत, काठमाडौ उपत्यकाको लगभग ५०% भूमिगत जलभरण, सिंचाई र जलविद्युतको लागि आवश्यक पानीको माग पुरा गर्ने, ख) काठमाडौ उपत्यकामा उत्सर्जित वायु प्रदूषण नियन्त्रण गर्ने, ग) पवित्र नदीहरू बागमती र बिष्णुमतीको महत्वपूर्ण जलाधार क्षेत्र, घ) मध्य-पहाडी क्षेत्रको समृद्ध जैविक विविधताको क्षेत्र, ङ) उत्तर-दक्षिण जोड्ने महत्वपूर्ण जैविक कोरिडोर, च) महत्वपूर्ण पंक्षी क्षेत्र छ) राजधानी नजिकैको प्रमुख पर्यटकीय गन्तव्यहरू, ज) अनुसन्धान र अन्वेषणको लागि सम्भावित क्षेत्र, र झ) विद्यार्थी, अनुसन्धानकर्ता र विद्वानहरूका लागि संरक्षण शिक्षाको लागि उपयुक्त क्षेत्र ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चार प्रकारका वनहरू रहेका छन् । यहाँ १४०२ प्रजातिका बिरुवाहरू रहेको अनुमान गरिएको छ, जसमध्ये १११४ प्रजातिहरू फूल फुल्ने बिरुवाहरू र २८२ प्रजातिहरू फूल नफुल्ने बिरुवाहरू जिम्नोस्पर्म, टेरिडोफाइट र च्याउ ढुसी हुन् । नेपालको सुनाखरीको एक तिहाइ प्रजाति (१२३ प्रजाति) यहाँ पाईन्छ । त्यसैगरी, टेरिडोफाइटका १३१ प्रजाति, च्याउका १२९ प्रजातिहरू यहाँ पाइएको छ । त्यसै गरी १२४ प्रजातिका पुतलीहरू, १२२ प्रजातिका कीराहरू, ३२० प्रजातिका चराहरू र ६५ प्रजातिका स्तनपायीहरूले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई आफ्नो बासस्थान बनाएको छ । जसमा कालो सालक, चरी बाघ, ध्वाँसे चितुवा, चितुवा, घोरल, हिमाली कालो भालु, र असामी बाँदर जस्ता संकटमा परेका प्रजातिहरू छन् ।
यस राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ गरी चार जिल्लाका दुई गाउँपालिका र नौ नगरपालिकामा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति एक शीर्ष निकाय हो जस अन्तर्गत ११ मध्यवर्ती क्षे त्र उपभोक्ता समितिहरू र ३०७ वटा उपभोक्ता समूहहरू आवद्ध छन् । यहाँ तामाङ, ब्राह्मण र क्षेत्री जातजातिहरुको बाहुल्यता रहेको छ । शिवपुरी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यमा बागद्वार, विष्णुद्वार, नागीगुम्बा, शिवपुरी चुचुरो र सुन्दरीजल रहेका छन् भने नागार्जुन क्षेत्रका इचंगुनारायण, नागार्जुन र जामाचो रहेका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रको दीगो व्यवस्थापन हासिल गर्न क्षमता अभिवृद्धि, अनुसन्धान, सामुदायिक सहभागिता र सामुदायिक विकासमार्फत जैविक विविधता, जलाधार, सिमसार तथा प्राकृतिक तथा सांस्कृतिक सम्पदाको जर्गेना र संरक्षण गर्नु निकुञ्ज व्यवस्थापनको मुख्य उद्देश्य हो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका विशिष्ट उद्देश्यहरू निम्न छन् :
- राष्ट्रिय रूपमा संरक्षित, विश्वव्यापी रूपमा खतरामा परेका र स्थानीय रूपमा मूल्यवान, लोपोन्मुख र स्थानीय प्रजातिहरू, महत्वपूर्ण पारिस्थिकीय प्रणालीहरू, र विविध वन्यजन्तुहरूको बासस्थानहरूलाई विशेष ध्यान दिएर जै विक विविधताको संरक्षण र अभिलेखिकरण गर्न;
- स्थलचर र जलचरको बासस्थानको व्यवस्थापन गर्न र मध्य पहाडी पारिस्थिकीय प्रणालीको प्राकृतिक प्रक्रियाहरू कायम राख्न बासस्थानको मूल्याङ्कन गर्ने;
- पानीको गुणस्तर, जलीय कार्यहरू र प्रक्रियाहरूलाई स्थायी रूपमा सुधार गर्न बागमती र बिष्णुमती जस्ता पवित्र नदीहरूको जलाधार व्यवस्थापन गर्ने;
- प्राकृतिक वातावरण, निकुञ्ज र मध्यवर्ती क्षेत्रको सामाजिक-सांस्कृतिक सम्पदा बचाई दीगो पर्यापर्यटनलाई नियमन र प्रवद्र्धन गर्ने;
- स्थानीय समुदाय र स्थानीय तहका सरकारी निकायहरूसँगको सहकार्यमा जनचेतना अभिवृद्धि, जीविकोपार्जनमा सुधार र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी जैविक विविधता संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने;
- र सम्वन्धित निकाय र संस्थाहरुसँगको सहकार्यमा अनुसन्धान, क्षमता अभिवृद्धि गरी निकुञ्जको संरक्षण र मध्यवर्ती क्षेत्रको संस्थागत क्षमता सुदृढ गर्ने ।
- व्यवस्थापन योजनाका लक्ष्य र उद्देश्यहरु निकुञ्ज व्यवस्थापन, जलाधार र सिमसार क्षेत्र व्यवस्थापन, मध्यवर्ती क्षेत्र व्यवस्थापन, पर्यापर्यटन व्यवस्थापन र संस्थागत विकास गरी मुख्यतः पाँच खण्डमा बाँडिएको छ । व्यवस्थापन योजनाका लक्ष्य हासिल गर्न निश्चित क्रियाकलाप सहित कार्यगत उद्देश्यहरु तर्जुमा गरिएको छ । वर्तमान योजनामा समेटिएका क्रियाकलापहरु, व्यवस्थापन प्रणाली, छलफल, अन्तक्र्रिया र कार्य क्षेत्रको अवलोकन तथा निरीक्षणलाई आत्मसात गर्दै रणनीतिका आधारमा क्रियाकलापहरु निर्धारण गरिएका छन् ।